परासी, ५ फागुन । चुनावी प्रचारमा रहेका नेकपा एमालेका उम्मेदवार लेखनाथ खरेलले आफनो लोकप्रिय चुनावी एजेण्डा सार्वजनिक गर्नु भएको छ । जनताको घरदैलोमा मत माग्न व्यस्त उम्मेदवार खरेल आफनो लोकप्रिय एजेण्डा सार्वजनिक गर्दै मतदाता संग मत माग्नु भएको छ । फागुन ४ गते परासीमा पत्रकार सम्मेलन गर्दे खरेलले आफनो चुनावी एजेण्डा र प्रतिवद्धता पत्र सार्वजनिक गर्नु भएको हो । नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा भोट माग्दै आफनो २५ बुँदे घोष्णा पत्र सार्वजनिक गर्नु भएको छ ।
यस प्रकार छ प्रतिबद्धता पत्र
- मुलभन्सार नाकाको रुपमा रहेको महेशपुर भन्सारलाई पूर्ण क्षमतामा संचालन गरी महेशपुर–परासी–सुनवलको बाटो चारलेनमा विस्तारको क्रममा रहेको र सो बाटोलाई सुनवल हुँदै पाल्पा सहितका पहाडी जिल्लाहरूसँग जोडने व्यापारिक मार्गहरूलाई महत्वका साथ निर्माणका लागि पहल गरिनेछ ।
- रामग्राम, पण्डितपुर, बाबा बर्दगोरीया, जावा, कोलवृक्ष, कररपत्त नगर, पाल्हीमा रहेको नन्दन ताल, देवदह ताल, तरगौली लगायत बुद्धसँग जोडिएका र पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धन, सम्बद्र्धन र निरन्तर आवश्यक पूर्वाधार विकास गर्ने ।
- नवयुवा पुस्ताको चाहना र भावनाको प्रतिनिधित्व गर्दै स्थानीय, प्रादेशिक र संघीय तहसम्म श्रम, सीप र स्वरोजगारी विकासमा जोड दिने ।
- कृषि क्षेत्रमा आधुनिकीकरण गरी व्यवसायीकरण, साना, मझौला तथा ठूला उद्योग र सहकारीका माध्यमबाट स्थानीय रोजगारीमा व्यापक वृद्धि गर्न पहल गर्ने ।
- “एक निर्वाचन क्षेत्र, एक खाद्य भण्डार” नीति अवलम्बन गरी कृषि उत्पादनको बजार र उपभोक्ताको सहज आपूर्तिको व्यवस्था गरिनेछ ।
- युवालाई स्वरोजगार बनाउँदै स्थानीय सीप, पूँजी र व्यवसायीकता बृद्धि गर्ने साथ उद्यमशिलता सम्बन्धी तालिम प्रदान गरी वीउपूँजी सहुलियतपूर्ण व्याजदरमा उपलब्ध हुने व्यवस्था गरिनेछ ।
- स्थानीय, प्रदेश तथा संघीय सरकार र नीजिक्षेत्रको सहकार्यमा मुख्य सहरी क्षेत्र केन्द्रीत गरी सहज, सुलभ र भरपर्दो सार्वजनिक यातायात सेवाको प्रवन्ध गरिने । पहिलो चरणमा भुमही र सुनवल देखि भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसम्म सिधा सार्वजनिक यातायात संचालन गर्ने ।
- तुरिया, पानभार, सोमनाथ–झरही, भलुही, भुमही लगायतका ठूला र अन्य साना घोला खोलाको किनार क्षेत्रको तटवन्धन मार्फत सम्बन्धित तटीय क्षेत्रको बर्षेनी हुने डुवान रोक्ने व्यवस्था मिलाइने छ ।
- रामग्राम, सुनवल र पाल्हीनन्दनमा एक–एक वटा सिटी हल निर्माणका लागि पहल गर्ने ।
- सुनवल स्थित लुम्बिनी चिनी मिललाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सो स्थानमा मेडिकल कलेज, अस्पताल, वा विश्वविद्यालय संचालन गर्न पहल गरिनेछ ।
- पद मार्ग र हिल स्टेशनका माध्यमवाट निर्वाचन क्षेत्रको उत्तरी राष्ट्रिय तथा सामुदायिक वनको सहकार्यमा पर्यटन सँग जोड्दै धुरकोट, बेवरे, विहारी गाउँमा होमस्टे संचालनका लागी विशेष पहल गरिने छ ।
- भ्रष्ट्राचारमा शुन्य सहनशिलता कायम गरी सुशासनको अवधारणालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याईने ।
- यस क्षेत्रमा सञ्चालित विभिन्न उद्योग–कलकारखानाहरुको व्यवस्थित रुपमा विकास गर्दै उद्योग र पर्यटनको हबको नमुना क्षेत्रको रुपमा अघि बढाउने ।
- स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने भावनालाई जागृत गराउँदै सवैप्रकारका खेलपूर्वाधार र खेलको समग्र विकासका लागि पहल गर्ने ।
- वर्तमान शिक्षालाई युगानुकुल प्रविधि, शिप र ब्यवसाय बनाउँदै दक्ष जनशक्ति उत्पादनका निम्ती पहल गर्ने ।
- जिल्लाकै एकमात्र सरकारी अस्पताल पृथ्वीचन्द्र अस्पताल र पाल्हीनन्दन अस्पताललाई उपकरण सहित सुविधा सम्पन्न बनाउने र सुनवलमा निर्माण हुने अस्पताललाई सुविधा सम्पन्न बनाउन पहल गर्ने ।
- पाल्ही बहुमुखी क्याम्पस, महाकवि देवकोटा बहुमुखी क्याम्पस, मोतिलाल बहुमुखी क्याम्पस र अस्न्या आदर्श क्याम्पसहरुलाई स्तरोन्नतीका लागि पहल गर्ने ।
- अब्यवस्थीत बसोवासी र भुमिहिनको पूर्जा वितरण, विपन्न दलित आवास कार्यक्रम सञ्चालन र जनता आवास कार्यक्रमको नियमितताका लागि पहल गरिनेछ ।
- आगामी ५ वर्षमा सबै पालिकाका निर्माण हुन बाँकी वडाका आफ्नै नयाँ र आर्कषक भवन पूर्वाधार निर्माण गरिनेछ ।
- जिल्लाको सदरमुकामसँग जोड्ने सबै सडक तथा अधुरा पुल र नयाँ पुलहरुको निर्माणमा पहल गर्ने ।
- सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्दै, माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निःशूल्क र अनिवार्य गर्दै संस्थागत विद्यालयहरुलाई आवश्यकता अनुसार नियमन गर्दै लैजाने ।
- विपन्न, असहाय, दलित र पछाडी परेको वर्गका लागि पुर्ण रुपमा निशुल्क शिक्षा दिने व्यबस्था मिलाइने ।
- जिल्लाका प्राकृतिक, पर्यावरणिय, धार्मिक, सांस्कृतिक तथा मनोरञ्जन पर्यटन क्षेत्रको पहिचान गरि संरक्षण प्रवद्धन र पुर्वाधार विकास गरिने ।
- निर्वाचन क्षेत्रमात्र नभई समग्र नवलपरासी जिल्लाको विकासका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी काम गरिने ।
- विभिन्न निकायहरुको सहकार्यमा विद्युत, इन्टरनेट, टेलिफोन, दुरसंचार, केवल टिभी लगायतका अव्यवस्थित तारहरूलाई भूमिगत गरी सौन्दर्य क्षेत्रको रुपमा विकास गरिने ।

