काठमाडौँ, १९ असाेज । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको आर्थिक अवस्था अत्यन्तै कमजोर र चुनौतीपूर्ण रहेको जनाएको छ । काठमाडौँमा जारी पार्टीको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार पार्टीको नियमित आम्दानीले साधारण खर्चसमेत धान्न मुस्किल परेको यथार्थ सार्वजनिक गरिएको हो। कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक यथार्थ प्रस्तुत गर्दै अहिले वार्षिक खर्च नै जुटाउन नसक्ने अवस्था रहेको बताएका छन् । ‘साधारण खर्च नै वार्षिक ३ करोड भन्दा बढी हुन्छ। अन्य खर्च, चुनाव र महाधिवेशन सबै धान्न धेरै नै गाह्रो छ,’ आर्थिक प्रतिवेदनमा उनले भनेका छन् । उनले चालु आर्थिक वर्षमा मात्रै पार्टीलाई पुँजीगत तर्फ १० करोडभन्दा बढी रकम आवश्यक रहेको औँल्याएका छन्।
व्यापारीसँग चन्दा नमाग्ने, लेवीमा कडाइ गरिने
आर्थिक स्रोत जुटाउन व्यापारी र व्यवसायीलाई चन्दा माग्ने काम बन्द गरिने कोषाध्यक्ष श्रेष्ठले बताएका छन् । सुविधा लिने तर पार्टीलाई सहयोग चाहिँ नगर्ने प्रवृत्ति हावी रहेको उनको भनाइ छ । पार्टीलाई आत्मनिर्भर बनाउन अब नेता, जनप्रतिनिधि र कार्यकर्ताबाट अनिवार्य लेवी उठाउने नयाँ प्रस्ताव अघि सारिएको छ । यस अन्तर्गत केन्द्रीय पदाधिकारी मासिक २ हजार, केन्द्रीय सदस्यले मासिक एक हजार, सङ्घीय सांसददेखि वडा अध्यक्षसम्मका जनप्रतिनिधिको वार्षिक रूपमा १ महिनाको तलब बराबरको रकम, महासमिति र महाधिवेशन प्रतिनिधिको वार्षिक ३ हजार रुपैयाँ र क्रियाशील सदस्यले वार्षिक २ सय रुपैयाँ तोकिएको छ । यसबाहेक वडादेखि प्रदेश कार्यसमितिसम्मलाई वार्षिक २ हजारदेखि ५ लाखसम्मको लेवी तोकिएको छ।
जेनजीले कार्यालय जलाउँदा ४ करोड ६० लाखको क्षति
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कार्यालय भवनमा ठुलो क्षति पुगेको र त्यसको पुनर्निर्माण, मर्मत तथा फर्निचर व्यवस्थापनमा मात्रै करिब ४ करोड ६० लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। समग्र पुनर्निर्माणमा ९ देखि १० करोड लाग्ने अनुमान गरिएको छ । साथै, पार्टी कार्यालयको प्रयोजनका लागि थप २० आना जग्गा बैना गरिएको पनि कोषाध्यक्षले जानकारी दिएका छन्।
डिजिटल कांग्रेस र क्राउड फन्डिङको अभ्यास
कांग्रेसले करिब ८ लाख क्रियाशील सदस्यहरूको डिजिटल डाटा तयार पारिसकेको र पार्टी पूर्णरुपमा प्रविधिमैत्री बन्दै गएको प्रतिवेदनमा दाबी गरिएको छ। अबका दिनमा सदस्यता शुल्क र लेवी डिजिटल क्युआर र अनलाइन पेमेन्ट प्रणालीबाटै उठाइनेछ । साथै, पार्टी सञ्चालनका लागि ५० देखि १०० जनाबाट मासिक १ लाखका दरले सहयोग उठाएर क्राउड फन्डिङ गर्ने अभ्यास सुरु गरिएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए।
यसबाहेक, भोटेकोशी बाढी पीडितका लागि कांग्रेसले २ करोड ८१ लाख रुपैयाँ सङ्कलन गरेको र त्यसमध्ये १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेको प्रतिवेदनमा उल्लेख छ। पार्टीको आर्थिक प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र संस्थागत बनाउँदै डिजिटल रूपान्तरणमार्फत कांग्रेसलाई सबल र सक्षम संगठन बनाउने लक्ष्यका साथ कोषाध्यक्षको प्रतिवेदन महाधिवेशनमा पेस भएको छ।

