काठमाडौँ, २८ भदाै। नेपाली कांग्रेसले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। खुला र बन्द सत्र सबै काठमडाैँकाे खुलामञ्चमै सञ्चालन हुने उनले बताए। यस्तै बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई सोही हैसियत दिइने निर्णय समेत गरेको छ।
प्रवक्ता चालिसेका अनुसार अब विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। वडा अधिवेशन असाेज ४ गतेभित्र सम्पन्न गरिने उनले बताए। सम्पूर्ण पार्टी पङ्क्तिलाई सहभागीताका लागि आह्वान गरिएको उल्लेख गर्दै पार्टी एकताका लागि संवाद,सहकार्य गरिएको प्रवक्ता चालिसेले बताए।

