
काठमाडाै, १० चैत । कोलम्बियामा वायु सेनाको विमान दुर्घटना भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा विमान दुर्घटना भएको हो । १२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । विमानमा सवार प्रायः सैनिकहरू थिए, जसमा ११० सैनिक र ११ चालक दलका सदस्यहरू थिए। समाचारअनुसार सोमबार दुर्घटनाग्रस्त विमानले पुटुमायोको अर्को शहरमा सेनाहरू ढुवानी गरिरहेको थियो । दुर्घटना स्थलबाट कम्तीमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायु सेनाले जनाएको छ । अधिकारीहरूले अझै पनि मृत्युको अन्तिम संख्याको अनुसन्धान गरिरहेका छन् ।
कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य विमान दुर्घटनामा शोक व्यक्त गरेका छन् । पेट्रोले सेनाको हतियार र स्रोतसाधनलाई आधुनिकीकरण गर्ने निर्णय पहिले नै भइसकेको बताए, तर प्रशासनिक ढिलाइका कारण यो कार्यान्वयन हुन नसकेको स्वीकार गरे । दुर्घटनाग्रस्त सी-१३० हर्कुलस संसारको सबैभन्दा भरपर्दो सैन्य यातायात विमानमध्ये एक हो, जुन सेना, हतियार र राहत सामग्रीहरू पुर्याउन प्रयोग गरिन्छ । यो विमान कठिन र कच्चा धावनमार्गमा अवतरण गर्न सक्छ । यसले एकैचोटि भारी कार्गो, हेलिकप्टर, बख्तरबन्द सवारी साधन र ठूलो मात्रामा राहत सामग्री बोक्न सक्छ ।

