परासी, ८ फागुन । रास्वपा उम्मेदवार नरेन्द्र कुमार गुप्ताले मतदाता भेटघाटमा धार्मिक क्षेत्रका विकासका लागि चर्चा परिचर्चा गरेका छन् । जिल्लाकाे धर्मिक तथा पर्यटकिय क्षेत्र विकासले यहाँ राेजगारी सृजना हुने र यहाँका जनताकाे अार्थिक उपार्जनमा सहज हुने विचार व्यक्त गरेका हुन । अाज सुनवल नगरपालिका वडा नं. ७ र ८ मा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै गुप्ताले जिल्लाको पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, स्तरोन्नति र प्रचार–प्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले धार्मिक आस्था केन्द्र, ऐतिहासिक स्थल तथा पुरातात्विक सम्पदाहरूको व्यवस्थित अभिलेखीकरण, संरक्षण योजना निर्माण र आवश्यक पूर्वाधार विकासमा संघीय सरकारमार्फत पहल गर्ने बताए। “हाम्रो क्षेत्र सम्भावनाले भरिपूर्ण छ, तर उचित योजना र दीर्घकालीन सोचको अभावले धेरै सम्पदा ओझेलमा परेका छन्,” उनले भने, “यी सम्पदालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके स्थानीय रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुग्नेछ।”
गुप्ताले स्थानीय तह, सरोकारवाला निकाय र समुदायसँग सहकार्य गर्दै संरक्षण अभियान सञ्चालन गरिने समेत बताए। घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले विकास, रोजगारी र पूर्वाधार सुधारको माग राखेका थिए। उनले क्षेत्रको समग्र विकासका लागि आफूलाई समर्थन गर्न मतदातासँग अपिल समेत गरेका छन्।

