परासी, १५ असार । पश्चिम नवलपरासीको चिसापानी सामुदायिक वनले पर्यापर्यटन विकासका लागि विभिन्न पर्यटन पुर्वाधारको कार्य अगाडी बढाएको छ । वन संरक्षण संग जिल्लामा पर्यटन फस्टाउन वन पर्यापर्यटन विकासका लागि केहि पर्यटन पुर्वाधार विकासका काममा अगाडी बढेको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ४ चिसापानी हाईवेको उत्तर तर्फ बनक्षेत्रमा ठुलो डिपियार बनाई पर्यटन पुर्वाधार विकासका लागि काम गरिरहेको चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाटका अध्यक्ष होम बहादुर गुरुङ्कले जानकारी दिनु भयो । समुहका अध्यक्ष गुरुङ्गले आइतबार पत्रकारहरुसंग सुचना आदान प्रदान कार्यक्रम सञ्चालन गरि ४.९० हेक्टर क्षेत्रफलमा पर्या पर्यटन बिकास कार्यक्रम अगाडी बढाएको जानकारी दिनु भयो । सो क्षेत्रफल मध्ये ३ हेक्टरमा पुराना तालहरु ६ थान रहेको, ०.१ हेक्टरमा चमेना गृह र १.८ हेक्टरमा पर्यापर्यटन विकासका काम भैरहेको बताउनु भयो ।
समुहका अध्यक्ष गुरुङ्गका अनुसार समुहले पार्क, फुलवारि, पुराना कला सस्कृती, झल्किने डिमो प्लट निर्माण , पिकनिक स्थल, वन्यजन्तु उद्दार केन्द्र ,मठ , मन्दिर ,पैदलमार्ग , बाल उद्यान , प्रतिक्षालय, लट्ठे पिङ , चर्के र्पिङ ढिकी, जातो, काठे गाडा, लडिया, हलो , जुवा, हेगा,माटोका भाडाहरु प्रदर्शन गरि पर्या पर्यटन विकाश गरिएको बताउनु भयो ।
अध्यक्ष गुरुङले वनले ०.१ हेक्टर क्षेत्रफलमा सप्तरङ्गी कृषि तथा पशुपालन फर्म प्रा. लि. बर्दघाट ५ ले ब्यवस्थापन गर्ने गरि चमेनागृह निर्माण गरिएको बताउनुभयो । गुरुङले चमेनागृहमा कृषि तथा पशुपालन फर्मको ७५ प्रतिशत र चिसापानी सामुदायिक वनको २५ प्रतिशत लगानी रहेको बताउनुभएको छ। जसवाट आम्दानिको ४० प्रतिशत सामुदायिक वनले लिने र ६० प्रतिशत सप्तरङ्गी कृषि फर्मलाइ दिने अध्यक्ष गुरुङले बताउनुभयो ।
कार्यक्रममा नवलपरासीका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्रीले प्रचलित कानुनी ब्यवस्थाको अधिनमा रहि पर्या पर्यटन विकास कार्यक्रम संचालन गरिएको बताउदै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पर्यापर्यटनको विकास कार्य अगाडी बढाइएको बताउनु भयो । उहाँले पर्यटक भित्राउन नेचर, कल्चर र एडभेन्चलाई मुख्य आधार बनाई पर्यटन पुर्वाधारको विकास गरे मात्र त्यो पर्यटन क्षेत्र पर्यटकको रोजाईमा पर्ने दावी गर्दै अब वनले वन संरक्षण मात्र होईन पर्या पर्यटन विकासमा पनि अगाडी बढेर आम्दानीको श्रोत बनाउन सक्ने सुझाव दिनु भयो । यसले वन क्षेत्रको संरक्षण हुने, वातावरण संरक्षण हुने र पर्यटन पनि फस्टाउने र आम्दानीको श्रोत पनि बन्ने हुँदा यस कार्यमा विभिन्न अरु समुदायिक वनहरु पनि लाग्न सुझाव दिनु भयो । कार्यक्रममा डिभिजन वन कार्यालयका कर्मचारी, लक्षित क्षेत्रका वडा अध्यक्षहरु, सामुदायिक वनका पदाधिकारी तथा कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

