परासी, २० पुष । पाल्हीनन्दन गाउँपालिकाको सदरमुकाम बेलासपुर चोकलाई सुन्दरीकरण गर्न गाउँपालिका सक्रिय भएको छ । चोकमा बढदो दुर्घटना न्युनिकरण गर्न र चोकको बजारलाई व्यस्थित गर्न गाउँपालिका लागी परेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिनु भएको छ । अध्यक्ष गुप्ताले, बेलासपुर चोकको सौन्दर्यिकरण र त्यहाँ रहेका अनाधिकृत अस्थायी संरचना, पान टंकी, तरकारी तथा फलफुल पसल र ठेल्लाहरुलाई व्यस्थित गर्न लागिएको बताउनु भएको हो ।
आईतबार अध्यक्ष गुप्ताको नेतृत्वमा वडा अध्यक्षहरु, प्रशासनिक तथा प्राविधिक टोली र नगर प्रहरीहरुले सडकको दुबै साईडमा रेखाङ्कन गर्दै बिच बाटोबाट ५० फिट भित्र क्षेत्रमा बनाइएका अवैध अस्थायी संरचना, टहरा, चिया पसल, पान पसल, टंकीहरु र फलफुलका पसल तथा ठेल्लाहरु हटाउन आग्रह समेत गरिएको छ ।
सडकको दुबै साईडमा ५०÷५० फिट जग्गा छोडेर कुनै कामकाज गर्न स्थानियलाई सडक मापदण्ड रहेपनि चोकका केहि स्थानिय व्यपारीहरुले अस्थायी अवैध संरचनाहरु बनाई व्यवसाय र व्यपार गर्दै आएका छन् । बाटोकै छेउमा तरकारी पसल, फलफुल पसल, चटपटे ठेल्लाहरु संचालन गर्दा बाटोमा आवत जावत गर्ने सवारी साधनहरुलाई अप्ठयारो हुने र दुर्घटना समेत बढदै जाने जोखिमलाई कम गर्न पालिकाले यस्तो कदम चालेको अध्यक्ष गुप्ताले जानकारी दिनु भयो । उहाँले यसका कार्यका लागि आवश्यक बजेट र जनशक्ति गाउँपालिकाबाट परिचालन गरिने पनि जानकारी दिनु भयो ।
यता बेलासपुरको साँगुरो जिर्ण पुलको दुबै साईडमा पैदल यात्रीका लागि ४÷४ फिटको फलामको रैलिङ्ग सहित फुटवे बनाउने, सब्जी मण्डीलाई शसस्त्र प्रहरी चेक पोष्टको पछाडी पश्चिम तर्फ रहेको सार्वजनिक जग्गामा व्यस्थित गरिने छ भने चोकको उत्तर र दक्षिण तर्फ १००÷१०० मिटर दुरीमा अस्थायी ढल समेत बनाएर बाटोलाई फराकिलो र सफासन्दर बनाउने पालिकाको योजना रहेको पालिकाको लेखा अधिकृत संजय कुमार शर्माले बताउनु भयो । नहरको डिलमा रहेका रुखहरुलाई रंगाउने, नहर सफा गराउने र नहरको डिलमा बस्ने कुर्चीहरु राखि चोकको सुन्दरीकरणका लागि पालिका गृहकार्यमा जुटीरहेको लेखा अधिकृत शर्माले जिकिर गर्नु भयो । चाेकमा टावर लाइट जडान भइसकेकाे छ भने, जेबरा क्रसिंग, टराफिक बिट बनाइने र साइनिंन हुने सचेतना बाेर्डहरू पनि राखिने छ । 
बेलासपुर चोकलाई व्यस्थित चोकको रुपमा व्यस्थित गर्न, सब्जी मण्डीलाई पनि व्यस्थित गर्न र चोकको सुन्दरीकरण गर्नका लागि पालिकामा गाउँपालिका अध्यक्ष गुप्ताको अध्यक्षतामा सर्वपक्षित छलफल समेत भएको थियो । छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, गाउँपालका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौड, लेखा अधिकृत संजय शर्मा, सिमा प्रहरी चौकीका ईन्चार्ज, शसस्त्र प्रहरी बल नेपाल बेलासपुर २६ नंं गणका प्रतिनिधि र स्थानिय सरोकारवालाहरुको सहभागिता रहेको थियो । छलफलमा सबैको साकारात्मक सुझाव प्राप्त भएको थियो ।
छलफल पश्चात बेलासपुर चोकमा रेखाङ्कनको कार्यमा लागिएको र चोकलाई व्यस्थित चोक बनाउन र सम्भावित दुर्घटनाको जोखिमालई न्युनिकरणमा लागि परिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जानकारी दिनु भयो । बेलासपुर चोकलाई व्यस्थित र सुन्दर चोकको रुपमा देख्न पाउने आशाले गाउँपालिकाका जनताहरु खुशीहाली छाएको छ ।

