परासी, १५ बैशाख । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा उपभोक्ताहरुका लागि सचेतना मुलक नाटक प्रदर्शन गरिएको छ । एकिकृत हातेमालो समाज नेपालको (सियान) आयोजना, आडीइ नेपाल (iDE) को आर्थिक सहयोग र कन्टेन्ट नेपाल प्रोडक्सन प्रा.लिको सहजीकरणमा पाल्हीनन्दनको वडा नं. ३ कुश्मामा उक्त सचेतनामुलक नाटक प्रदर्शन गरिएको हो । नाटकमा पोषणयुक्त खाद्य बस्तुहरुको उत्पादनमा बृद्धि गराउने र उपभोक्ताहरुले आफनो दैनिक आहारमा गुणस्तर र पोषणयुक्त खाद्य बस्तुहरु प्रयोग गर्ने विषयहरुमा नाटक प्रर्दशन गरिएको हो ।
उपभोक्ताहरुले आफनो खेतबारी तथा घरमा पोषणयुक्त तरकारी, माछा, मासु, अण्डा र खाद्यान्नहरु उत्पादनमा बृद्धि गर्ने र आफनो दैनिकी खानपानमा पोषणयुक्त खाद्य बस्तुहरुको प्रयोगलाई प्राथमिकता दिने र जंक फुड तथा बजार चौराहाका चिल्लो मसलेदार नास्ता तथा खाना प्रति सचेत गराउने उद्देश्यले सियानले उपभोक्ताहरुलाई यो सचेतनामुलक नाटक आयोजना गरेको सियानको कृषि सुपरभाईजर केदार घिमिरेले जानकारी दिनु भयो । नाटक प्रदर्शन कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गोधन प्रसाद हरिजन, वडा सचिव पुनम यादव, पोषण सहजकर्ता राजेश कुर्मी, सिद्धार्थ मा.विका शिक्षक शिक्षिका, ज्ञानकुंज ईन्गलिस बोर्डिङ्गका शिक्षक र स्थानिय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
सडक नाटकमा उभोक्ताहरुले पोषणयुक्त खानामा ध्यान दिन, पोषणयुक्त खाद्य बस्तुहरुको उत्पादन बढाउने, कृषि उत्पादनमा जोड दिने, सरसफाईमा ध्यान दिने, कुपोषणबाट बच्ने जस्ता मुल सन्देश दिइएको सियानको वास सुपरभाइजर साईदा निसा पठानले बताउनु भयो । ‘‘पोषण मार्फत जिवन रुपान्त्रण परियोजना” विगत एक बर्षदेखि एकिकृत हातेमालो समाज नेपाल (सियान) द्धारा जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा संचालन भई कृषि क्षेत्रको प्रवद्र्धन र शुद्ध खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्दै आएको छ । यो सडक नाटक सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा समेत संचालन भईसकेको संस्थाले जनाएको छ । नाटकमा महिला तथा पुरूष कलाकारहरू प्रयाेग गरिएका छन् ।

