परासी, ३१ बैशाख । पोषण मार्फत जिवन रुपान्त्रण परियोजना नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । यस परियोजना मार्फत कृषकहरुलाई पोषण खाद्यान्न सामाग्री उत्पादनमा बृद्धि र प्रोत्साहन गर्ने कार्य गरिदै आइएको छ भने उपभोक्ताहरुलाई पोषणयुक्त खाद्यबस्तुहरु प्रयोग गर्न प्रोत्साहन गरिदै आइएको छ । आजभोली उपभोक्ता र बालबालिकाहरु दिन प्रति दिन जंक फुड र बजार तथा होटलका अस्वस्थकर नास्ता–खाना खाएर विरामी र कुपोषित हुनेको संख्या बढदै गएको छ । बालबालिक तथा उपभोक्ताहरुलाई कुपोषण र विभिन्न रोगहरुबाट बचाउनका लागि उनीहरुलाई सचेत गराउदै पोषिलो खानापानमा आकर्षण गर्न र पोषणयुक्त खाद्यान्न सामाग्री उत्पादनमा जोड दिन यस परियोजनाले नवलपरासीमा काम गर्दै आएको छ ।
एकिकृति हातेमालो समाज नेपाल (सियान) को आयोजना तथा आईडीई नेपालको आर्थिक सहयोगमा यो परियोजना विगत १ बर्षदेखि जिल्लाको ४ वटै गाउँपालिकामा काम गर्दै आएको छ जसको प्रभावकारिता बढदै गएको पाइएको छ । परियोजनाले, कृषि उत्पादन, बजारीकरण, आयआर्जन र सरसफाई लगायतको क्षेत्रमा काम गर्दै आएको छ ।
पोषणयुक्त खाद्य सामाग्री उत्पादनका लागि सियानले सुस्ता गाउँपालिका वडा नं. १ मा संचालित वाटिका कृषि सहकारी संस्थालाई खोवा बनाउने मेसिन र पनिर प्रेस गर्ने मेसिन हस्तान्त्रण गरेको छ । संस्थाले डैरी उत्पादन वृद्धि र प्रवद्र्धनका लागि यि सामाग्रीहरु वितरण गरेको हो । सुस्तामा पोषणयुक्त खाद्य बस्तु उत्पादन भई, बजारीकरण हुनु, आयआर्जनमा वृद्धि हुनु र बजारमा पोषणयुक्त बस्तुहरु उपलब्ध हुने उद्देश्यले यो कार्य गरिएको सियानका कृषि, पोषण तथा बजार सुदृणिकरण अधिकृत दिनेश शर्माले जानकारी दिनु भयो ।
उहाँका अनुसार संस्थालाई तौल मेसिन पनि सहयोग गरिएको छ भने सहकारीले फ्रिज, प्याकेजिङ्ग गर्ने कार्यमा साझेदारी गरेको छ ।
सियानले त्यसैगरि एक किसानलाई पनि पोषणयुक्त खाद्यान्न सामाग्री उत्पादमा प्रोत्साहन गर्न विभिन्न रैथाने र परम्परागत बाली र तरकारीका विउहरु वितरण गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं. ६ का रामबिलास तेलीलाई ओलको विउ, तिलको विउ वितरण गरिएको छ भने गडयौला मल उत्पादनका लागि गडयौला सहयोग गरिएको हो । त्यस्तै कृषक तेलीलाई अण्डा उत्पादनका लागि कोईलर कुखुरा वितरण गरिएको छ । खोर व्यवस्थापन, चल्ला र दानाहरु पनि सहयोग गरिएको सियानका कृषि पोषण अधिकृत शर्माले जानकारी दिनु भयो ।
यि सामाग्रीहरु सहयोगले पोषणयुक्त खाद्यान्न सामाग्री उत्पादनमा बृद्धि हुने, संस्था तथा किसानको आयआर्जन हुने, उपभोक्ताहरुले शुद्ध पोषणयुक्त खाद्य बस्तुहरु बजारबाट प्राप्त गर्ने सियानको उद्देश्य रहेको छ ।

