
एजेन्सी, १० मंसिर । हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय भवनमा भीषण आगलागी हुँदा एक अग्निनियन्त्रकसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आगलागी बुधबार ‘वाङ फुक कोर्ट’ नामक हाउसिङ कम्प्लेक्समा भएको हो। आठ वटा ब्लक रहेको उक्त कम्प्लेक्समा कुल दुई हजार फ्ल्याट रहेका छन् । हङकङ सरकारका अनुसार वाङ फुक कोर्टमा दिउँसो करिब २ बजेर ५१ मिनेटमा आगो सल्किएको थियो। आगलागीको सूचना पाउनसाथ अग्निनियन्त्रक विभागको टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा धुवाँको मुस्लो र आगोको लप्का भयानक देखिएको छ। अझै पनि आगलागी नियन्त्रण गर्न अग्नि नियन्त्रकहरू प्रयासरत छन् भने मानिसहरू त्रासमा भाग दौड गरिरहेको दृश्य देखिएको छ । सुरुमा ४ जनाको मृत्यु भएको बताइएकोमा हङकङका अधिकारीहरूले मृतकको सङ्ख्या बढेर १३ पुगेको पुष्टि गरेका छन् । केही बेरअघि पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगलागीमा परी २८ जना घाइते भएका छन् ।

