काठमाडौं, २६ जेठ । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्य दूतावासले त्यहाँ रहेका नेपालीलाई कुनै पनि किसिमको प्रलोभनमा परी आफ्नो इमिरेट्स आईडी अन्य व्यक्तिलाई नदिन अनुरोध गरेको छ । आईडी दुरुपयोग भएका कारण नेपालीहरूले दुःख पाएपछि महावाणिज्य दूतावासले मंगलबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । “कुनै पनि किसिमको प्रलोभनमा परी आफ्नो इमिरेट्स आईडी जो कोही व्यक्तिलाई नदिनुहोला,” महावाणिज्य दूतावासले भनेको छ, “बैंकबाट पैसा मिलाइदिन्छु, भिसा लगाइदिन्छु, नेपाल पठाइदिन्छु भनी नेपाली नागरिकको इमिरेट्स आईडी अनधिकृत व्यक्तिले प्रयोग गरी बैंकबाट ऋण लिएर फसाइदिएको तथा सजिलै पैसा प्राप्त हुने प्रलोभनमा फसेका व्यक्तिका मुद्दाहरू अहिले पनि उल्लेख्य संख्यामा छन् ।”
नेपाली नागरिको नामको यूएई मोबाइल सिम/इमिरेट्स आईडी अरूले प्रयोग गरी फसाएको र यसरी फसेका/मुद्दा खेपिरहेका/जेल/जरिवाना सजाय भएका व्यक्तीलाई सहयोग गरिदिन भनी सम्बन्धित व्यक्ति/परिवारबाट निरन्तर अनुरोध आउने गरेको समेत महावाणिज्य दूतावासले जनाएको छ । “यूएईको फोन सिम कार्ड इमिरेट्स आईडीमा जोडिने भएकोले आफ्नो सीम कार्ड अरूलाई दिँदा अरूले सो सिम प्रयोग गरी भएको आर्थिक हिनामिनाहरूमा आफू परिने हुन्छ । तसर्थ, आफ्नो नामको मोबाइल सिम अरूलाई दिनु वा अरुको सिम कदापि प्रयोग गर्नु हुँदैन,” सूचनामा भनिएको छ ।
महावाणिज्य दूतावासले यदि कसैले बैंकबाट कल गरेको भनी फोन मार्फत बैंक कार्ड नम्बर, ओटीपी नम्बर वा इमिरेट्स आईडी नम्बर मागेमा ठगीको फन्दामा परिने हुँदा फोन मार्फत कसैलाई पनि आफ्ना व्यक्तिगत विवरण तथा कार्ड नम्बरहरू नदिन भनेको छ ।
आफ्नो बैंक खातामा स्रोत नखुलेको रकम जम्मा भएको जानकारी हुँदासाथ सम्बन्धित बैंकमा आफैँ उपस्थित भएर सूचना दिन पनि महवाणिज्य दूतावासले अनुरोध गरेको छ । “बैंकलाई समयमा जानकारी नगराउँदा कानुनी कारबाहीमा पर्न सक्नुहुनेछ,” सूचनामा उल्लेख छ ।
यस्तै, यूएईमा कार्यरत नेपाली नागरिक सम्पर्कविहीन भएको वा थुनामा परेकोले खोजी गरिदिन भनी नेपालमा रहेका सम्बन्धित परिवारबाट दैनिक रूपमा अनुरोध आउने गरेको महावाणिज्य दूतावासले जनाएको छ ।
सम्पर्कविहीन व्यक्तिको खोजीका लागि आवश्यक कागजात उपलब्ध गराइदिन सम्बन्धित परिवारलाई अनुरोध गर्दा अधिकांश अवस्थामा कागजात उपलब्ध नहुने गरेको पाइएको भनाइ महावाणिज्य दूतावासको छ ।
“कुनै पनि नेपाली नागरिकले रोजगारीका लागि यूएई प्रस्थान गर्नुअघि आफ्नो राहदानी, भिसा, श्रम अनुमतिको सफा प्रतिलिपि आफ्नो परिवारलाई सुरक्षित साथ राख्न लगाउनुहुन पुनः सम्बन्धित सबैमा अनुरोध गरिन्छ,” महावाणिज्य दूतावासले भनेको छ ।
साथै, यूएई आइसकेपछि काम गर्ने कम्पनीको नाम, पूरा ठेगाना, कम्पनीको सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर, बस्ने ठाउँ (क्याम्प) को पूरा ठेगाना, क्याम्प प्रमुख (क्याम्पबोस) को नाम र सम्पर्क नम्बर साथै इमिरेट्स आईडी बनिसकेपछि सोको सफा प्रतिलिपि समेत परिवारलाई पठाई सुरक्षित साथ राख्न पनि महावाणिज्य दूतावासले अनुरोध गरेको छ ।
“माथि उल्लेख गरिएका आधारभूत कागजात र विवरणबिना सम्पर्कविहीन व्यक्तिको खोजी कार्य कठीन हुने व्यहोरा समेत जानकारी गराइन्छ,” महवाणिज्य दूतावासले भनेको छ ।

