Home प्रमुख समचार सुनवल नगरपालिकाद्वारा १ अर्ब २३ लाख ५० हजारको बजेट प्रस्तुत

सुनवल नगरपालिकाद्वारा १ अर्ब २३ लाख ५० हजारको बजेट प्रस्तुत

Social Media Sharing

परासी, ४ असार ।  सुनवल नगरपालिकाको १९ औ नगरसभामा आ.ब.२०८३/८४ को नीति तथा कार्यक्रम र बजेट वक्तव्य नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। नगरपालिकाले यस आर्थिक वर्षका लागि १ अर्ब २३ लाख ५० हजार बजेट सार्वजनिक गरेको छ। कार्यक्रममा नगर प्रमुख बिमला अर्यालले आ.व. २०८२।८३ को लक्ष्य र हालसम्मको प्रगति बारे जानकारी दिँदै सामाजिक विकासतर्फ ६८.६९ प्रतिशत, आर्थिक विकासतर्फ ३३.०३ प्रतिशत, पूर्वाधार विकासतर्फ ३४.२९ प्रतिशत, सुशासन तथा संस्थागत विकासतर्फ ६६.६९ प्रतिशत र वन वातावरण तथा विपद व्यवस्थापन तर्फ २७.१४ प्रतिशत प्रगति भएको बताउँदै २०८३ जेठ मसान्तसम्म कुल बजेटको ५५.१५ प्रतिशत खर्च भएको बताउनुभयो। यस्तै आर्थिक वर्ष २०८३/८४ को लागि बजेटले सामाजिक विकास सुशासन तथा संस्थागत विकास पूर्वाधार विकास आर्थिक विकास र वातावरण तथा विपद व्यवस्थापनलाई बढी प्राथमिकता दिएको नीति तथा कार्यक्रममा जनाइएको छ।

त्यसैगरी बजेट वक्तव्य प्रस्तुत गर्दै नगर उपप्रमुख सूर्यप्रसाद दुबेले चालु आ.व. २०८२/८३ को लागि कुल बजेट रु ९९ करोड ६३ लाख ६३ हजार ९८२ मध्ये  चालु आ.व. २०८२/८३ को जेठ मसान्तसम्म ६९.५३ प्रतिशत प्रगति हासिल भएको जानकारी दिनुभयो। उहाँले आ.व. २०८३/८४ का लागि सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, मेला महोत्सव, संस्कृति प्रवर्द्धन, युवा खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, बहुक्षेत्रीय पोषण, मृत्यु संस्कार, सुत्केरी पोषण, र सबै लक्षित वर्ग, दलित, आदिवासी जनजाति र अपाङ्गतर्फ कुल ३९ करोड ६४ लाख ४५ हजार बजेट विनियोजन गरिएको बताउनुभयो।

आर्थिक विकास अन्तर्गत कृषि, पशुपंक्षी विकास, पर्यटन, सहकारी, उद्योग, लघु उद्यम विकास र रोजगार प्रवर्द्धन कार्यक्रमतर्फ कुल रकम २ करोड ९८ लाख २५ हजार विनियोजन गरेको बताउनुभयो। यस्तै वन, वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत वन तथा भूसरक्षण,  फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद व्यवस्थापनकोष, सार्वजनिक जग्गा संरक्षण, नदी नियन्त्रण र तारजाली, र जलवायु अनुकूलन कार्यक्रमतर्फ कुल २ करोड १५ लाख ५० हजार विनियोजन गरेको बताउनुभयो।
उहाले पूर्वाधार विकास अन्तर्गत स्थानीय सडक पुल, पक्कीनाला, कल्भर्ट, ह्युम पाइप, सडक मर्मत, सिँचाइ, भवन तथा सहरी विकास, ऊर्जा तथा विद्युतीकरण , कार्यपालिका पूर्वाधार विकास कार्यक्रमतर्फ कुल रकम रु ३० करोड ५३ लाख ८० हजार विनियोजन गरेको बताउनुभयो।

बजेटमा सुनवल नगरपालिकाले आगामी आ.व. २०८३/८४ का लागि आम्दानीतर्फ संघीय सरकार वित्तीय हस्तान्तरणतर्फ रु ४७ करोड १७ लाख, प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फ रु ३ करोड ७३ लाख ४२ हजार, राजस्व बाँडफाँडतर्फ रु २५ करोड ३९ लाख ५५ हजार र आन्तरिक स्रोततर्फ रु १५ करोड ९३ लाख ५३ हजार र गत अल्या तर्फ रु ८ करोड गरी आम्दानीतर्फ कुल रु १ अर्ब २३ लाख ५० हजार रहेको जनाउँदै आगामी आ.व. को बजेट विनियोजन चालु आ.व. को तुलनामा १.०१ प्रतिशतले वृद्धि भएको जानकारी गराईएको छ।