भैरहवा, ९ कार्तिक । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीहरुलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ । अस्पतालले नियमित कार्यमा समर्पित हुन आव्हान गरेको हो ।
युसीएसएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले आइतबार विज्ञप्ती जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आजैबाट आकस्मिकसहित सघन उपचार, प्रसुति लगायत सबै सेवाहरु पूर्णरुपमा सञ्चालनमा ल्याउन अनुरोध गर्नुभएको छ । उहाँले वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकुल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत बताउनुभएको हो ।
साथै उठेका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिनहुन स्थानीय प्रशासन तथा सरोकारवाला सबैमा अस्पताल प्रशासनले अपील समेत गरेको छ ।
‘युसीएमएस भैरहवामा कार्यरत नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीहरुले प्रशासनसमक्ष ‘अकस्मात् रुपमा’ विभिन्न मागहरु राखी २०८२ कार्तिक २ गते कुनै सुनुवाई गर्ने समय नै नदिइ जारी आन्दोलनले यस अस्पतालका अत्यन्त संवेदनशील क्षेत्र आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइ.सी.यु., सी.सी.यु., एस.आइ.सी.यु. इत्यादि) समेत सहज रुपमा सञ्चालन हुन नसकेको विज्ञप्तीमा उल्लेख छ ।

