spot_imgspot_imgspot_img
Home अन्तराष्ट्रिय रूसले गर्‍यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण

रूसले गर्‍यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण

Social Media Sharing

काठमाडौं , १० कात्तिक। रूसले विश्वको पहिलो परमाणु ऊर्जाद्वारा सञ्चालन हुने क्रुज मिसाइल बुरेवस्तनिक–९एम७३९ को सफल परीक्षण गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार भिडियो कन्फ्रेन्समार्फत यो जानकारी दिँदै मिसाइलका सबै परीक्षण चरण पूरा भएको बताए। यस क्रममा रूसी सेनाका प्रमुख भ्यालेरी गेरेसिमोभले पुटिनलाई जानकारी दिँदै भने, ‘मिसाइलको सफल परीक्षण २१ अक्टोबरमा गरिएको थियो। परीक्षणको दौरान बुरेवस्तनिकले करिब १५ घण्टा आकाशमा उडान भर्‍यो र १४ हजार किमी दूरी तय गर्‍यो।’

गेरेसिमोभका अनुसार यो दूरी यसको अधिकतम सीमा होइन । परमाणु स्रोतबाट चल्ने भएकाले यसको दायरा असीमित मानिएको छ । रिपोर्टहरूअनुसार यो मिसाइलको गति करिब १३०० किमी/घण्टा छ। पुटिनले भने, ‘यस्तो मिसाइल अहिले संसारको कुनै देशसँग छैन। सुरुमा धेरै विशेषज्ञहरूले यस्तो हतियार सम्भव नै हुँदैन भनेका थिए, तर अब यो वास्तविकता बनेको छ।’ पुटिनले सेनालाई यो मिसाइल प्रहारका लागि तयारी अवस्थामा राख्न पनि आदेश दिइसकेका छन्।

असीमित उडान भर्ने क्षमता

बुरेवस्तनिक एक क्रुज मिसाइल हो जुन सामान्य इन्धन इन्जिनको साटो न्यूक्लियर रिएक्टरबाट चल्छ। त्यसैले यसले असीमित दूरीसम्म उडान भर्न सक्छ र दुश्मनको एण्टी–मिसाइल डिफेन्स सिस्टमलाई चक्मा दिन सक्छ।

अमेरिकी वायुसेनाका अनुसार, मिसाइल सर्विसमा आएपछि रूससँग १०–२० हजार किमी दूरीसम्म प्रहार गर्ने क्षमता हुनेछ। यसले रूसलाई आफ्नो देशबाटै बसेर अमेरिका लगायत अन्य टाढा क्षेत्रहरूमा पनि हमला गर्न सक्षम बनाउँछ।

यसअघि यति लामो दूरीमा प्रहार गर्न ब्यालिस्टिक मिसाइल प्रयोग गरिन्थ्यो । तर बुरेवस्तनिक पहिलो यस्तो क्रुज मिसाइल हो, जसले यति दूरीमा प्रहार गर्न सक्छ।

सामान्य ब्यालिस्टिक मिसाइलहरू एक निश्चित उचाइ र मार्गबाट उडान भर्छन्, जसलाई ट्र्याक गर्न सकिन्छ। तर बुरेवस्तनिक ५०–१०० मिटरको तल्लो उचाइबाट उड्छ र उडानकै बीचमा दिशा परिवर्तन गर्न सक्छ। यसैले यसलाई पत्ता लगाउन र रोक्न लगभग असम्भव हुन्छ।

लन्चपछि सक्रिय हुन्छ न्यूक्लियर रिएक्टर

मिसाइललाई सुरुमा ठोस इन्धन बुस्टरले लन्च गरिन्छ। लन्च भएपछि यसको न्यूक्लियर रिएक्टर सक्रिय हुन्छ र मिसाइल परमाणु ऊर्जामा आधारित भएर उड्छ।

रिपोर्टअनुसार यसको प्रयोगका लागि स्थल आधारित लॉन्च साइटहरू बनाइँदै छन्। रोयटर्सको एक अनुसन्धानअनुसार, राजधानी मास्कोबाट ४७५ किमी उत्तर तर्फ यसको सम्भावित परीक्षण स्थलमा नयाँ ९ वटा लॉन्च प्याड निर्माण भइरहेको छ।

अझै बाँकी छन् केही प्राविधिक चुनौती

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थान (आईआईएसएस) का अनुसार रूसले यो मिसाइललाई विश्वसनीय रूपमा चलाउन अझै धेरै प्राविधिक चुनौती सामना गर्नुपर्नेछ।

रिपोर्टका अनुसार, यस्ता धेरै परीक्षण असफल भएका छन् । एक परीक्षण विस्फोटमा ७ वैज्ञानिकको मृत्यु भएको थियो ।

परीक्षणको क्रममा यसअघि पासको क्षेत्रमा रेडिएशन स्तर पनि बढेको थियो । सन् २०१६ पछि भएका दर्जनौँ परीक्षणमा केवल आंशिक सफलता मात्र मिलेको बताइन्छ।

पुटिनले २०२३ मै मिसाइल सफल भएको दाबी गरे पनि त्यतिबेला यसको पुष्टि हुन सकेको थिएन।

रूसले बुरेवस्तनिकलाई रणनीतिक ‘अजेय’ हतियारको रूपमा प्रस्तुत गरिरहेको छ, तर यसको सुरक्षा र विश्वसनीयता बारे अझै व्यापक चिन्ता र बहस जारी छ।

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’– ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले हालै गरेको आणविक–सञ्चालित क्रुज मिसाइल परीक्षणलाई ‘उचित कदम होइन’ भनी टिप्पणी गरेका छन् ।