काठमाडाै, १० कातिक । जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुस्ताङका विभिन्न पदमार्गमा दुई दिन पदयात्रा नगर्न/नगराउन अनुरोध गरेको छ । आज रातिदेखि १२ गतेसम्म उच्च हिमाली क्षेत्रमा हल्कादेखि भारी हिमपात हुने मौसम पूर्वानुमान रहेकाले पदयात्रा नगर्न भनेको हो । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले मुस्ताङ-डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ-मनाङ थोरङला पास ५४५० मिटर, मुस्ताङ-मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ-म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण रहेकाले सतर्क रहन भनेका छन् ।
‘उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्नु/नगराउनुहुन साथै यस जिल्लाको अन्य भागमा समेत हिमपात/वर्षाको सम्भावना रहेकोले पर्यटक/तीर्थयात्रीहरूले मौसम पूर्वानुमान सम्बन्धी आवश्यक जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ’, प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा भनिएको छ ।

