spot_imgspot_imgspot_img
Home प्रमुख समचार तिहारमा पनि व्यस्त नेपाली खेलकुद

तिहारमा पनि व्यस्त नेपाली खेलकुद

Social Media Sharing

३ कात्तिक, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आज दोस्रो दिन । कुकुर तिहारसँगै लक्ष्मीपुजा पनि आजै मनाईँदैछ ।

सारा नेपालीहरू तिहारको रमझममा रमाइरहँदा नेपाली खेलाडीहरू भने चाडपर्वको बेला पनि विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा व्यस्त हुने भएका छन् ।

बहराइनमा हुने युथ एसियन गेम्स देखि बंगलादेशमा हुने काभा पुरुष नेसन्स कप भलिबलसम्म तिहारकै समयमा परेको छ ।

तिहारको बेला पुरुष क्रिकेट टिम, पुरुष भलिबल टिम, महिला फुटबल टिम, तेक्वान्दो खेलाडीहरू विदेशमा हुनेछन् । यस्तै एथ्लेटिक्सका खेलाडीहरू पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानेछन् ।

बहराइनमा हुने युथ एसियन गेम्स देखि बंगलादेशमा हुने काभा पुरुष नेसन्स कप भलिबलसम्म तिहारकै समयमा परेको छ ।

तिहारको बेला पुरुष क्रिकेट टिम, पुरुष भलिबल टिम, महिला फुटबल टिम, तेक्वान्दो खेलाडीहरू विदेशमा हुनेछन् । यस्तै एथ्लेटिक्सका खेलाडीहरू पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानेछन् ।

हरिहजुर थापाको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीमा यस पटक ८ नयाँ खेलाडी छन् । नेपालले पहिलो खेल कात्तिक ५ गते तुर्कमेनिस्तानसँग खेल्नेछ ।

तिहारको समयमा देशको प्रतिनिधित्व गरेर खेल्न जान लागेका पुरुष भलिबल टिमका मुख्य प्रशिक्षक भरत यादवले राम्रो नतिजा ल्याएर खुशी दिने विश्वास राखेका छन् ।

तेस्रो एसियन युथ गेम्स, बहराइन

बहराइनमा यही कात्तिक ५ देखि १४ गतेसम्म हुने तेस्रो एसियाली युथ गेम्समा नेपालबाट विभिन्न ६ खेलका ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालबाट ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जन तथा इस्पोर्ट्समा काभ्यराज आचार्यले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद राखेपले बिदाइ गरेको कार्यक्रममा इस्पोर्ट्स बाहेकका टोली थिए । अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीले आइतबारै बिदाइ गरेको कार्यक्रममा भने इस्पोर्ट्ससहितका खेलाडीहरुलाई बिदाइ गरिएको थियो ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टु, यूएई

पछिल्लो दुई साता नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण बन्यो । टेष्ट मान्यता प्राप्त वेष्ट इन्डिज विरुद्धको टी-२०आई सिरिज जितेर इतिहास रचेको नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी२० विश्वकपमा स्थान बनायो ।

भर्खरै ओमानमा सम्पन्न आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटको च्याम्पियन बन्दै तेस्रो पटक टी२० विश्वकपमा छनोट भएको नेपाली पुरुष क्रिकेट टोली हाल युएईमा छ ।

टी-२० विश्वकपमा छनोट भएको टोली नेपाल नफर्की आईसीसी क्रिकेट विश्वकप लिग टु को सिरिज खेल्नका लागि ओमानबाटै युएई पुगेको हो ।

यही कात्तिक ९ देखि १९ गतेसम्म नेपाल, यूएई र अमेरिका सम्मिलित लिग टु को सिरिज हुने भएकोले नेपाली टोली तिहारको समयमा पनि विदेशमै रहने भएको हो । लिग टु का खेलहरू तिहारलगत्तै हुने भएपनि यो बीचमा छोटो समयमा भएकोले नेपाली टोली सिधै युएई गएको हो ।

नेपालले लिग टु को सिरिजमा युएई र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ ।

तिहार लगत्तै नेपालले कात्तिक ९ गते अमेरिकासँग खेल्नेछ । यस्तै कात्तिक १३ गते युएईसँग दोस्रो खेल खेल्नेछ । यस्तै नेपालले कात्तिक १५ गते फेरि अमेरिका र १९ गते युएईसँग खेल्नेछ ।

महिला मैत्रीपूर्ण फुटबल, भारत

नेपाली राष्ट्रिय महिला फुटबल टोली हाल दुई अन्तर्राष्ट्रिय मैत्रीपर्ण खेलको तयारीमा व्यस्त छ । तिहारको समयमा पनि महिला खेलाडीहरू प्रशिक्षण गरिरहेका छन् ।

विदेशमा लिग खेलिरहेका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ (अष्ट्रेलिया), एन्जिला तुम्बापो सुब्बा (भारत), प्रीति राई (जोर्डन) र पुजा राना (भुटान) नेपाल आइपुगिसकेका छन् ।

नेपाली महिला टोली इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्न तिहारकै समयमा भारतको सिक्किम जाँदैछ ।

नेपालले यही कात्तिक ७ गते (भाइटिकाको भोलीपल्ट) इरानसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै दोस्रो मैत्रीपूर्ण खेल भारतसँग कात्तिक १० गते खेल्नेछ । जुन छठ पर्वको दिन पर्नेछ ।

मैत्रीपूर्ण खेलका लागि सावित्राको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा भइसकेको छ । जसमा हिरा भुजेल र दीपा शाहीले चोटबाट निको भएर पुनरागमन गरेका छन् । यस्तै सजनी थोकरले पनि टिममा पुनरागमन गरेका छन् । यू-२० टोलीका दुई फरवार्ड मिना देउवा र पूर्णिमा राईले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

नविन न्यौपानेले पहिलो पटक महिला टिमको प्रशिक्षण सम्हाल्दैछन् ।

फुटबलमा नेपालका पुरुष खेलाडीहरू पनि बंगलादेशमा लिग खेलिरहेका छन् ।

साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप, भारत

तिहारकै समयमा एथ्लेटिक्स खेलाडीहरू भारतको राँची, झारखण्डमा आयोजना हुने साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपको लागि तयारीमा छन् र तिहारकै समयमा उनीहरु भारत जानेछन् ।

च्याम्पियनसिप अक्टोबर २४-२६ (कात्तिक ७-९ गते) सम्म हुनेछ । तिहारको भोलीपल्ट देखि च्याम्पियनसिप सुरु हुने भएपनि खेलाडीहरू भने तिहार छाडेर भारत जाँदैछन् ।

नेपालबाट एथ्लेटिक्सका विभिन्न विधाहरू कूल २६ खेलाडीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।

विश्व तेक्वान्दो च्याम्पियनसिप, चीन

तिहारकै समयमा अन्तर्राष्ट्रिय खेल खेल्न जाने अर्को खेल हो तेक्वान्दो । यही अक्टोबर २४ देखि ३० सम्म (कात्तिक ७-१३ गतेसम्म) चीनको उक्सीमा आयोजना हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४) मा नेपालबाट ८ तेक्वान्दो खेलाडी सहभागी हुँदैछन् ।

तेक्वान्दोमा ओलम्पिक पछि सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा विश्व च्याम्पियनसिप रहने गर्छ ।

उनीहरूले नोभेम्बर २ देखि ४ सम्म (कात्तिक १६-१८ गते) उक्सीमै हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (जी २) मा पनि सहभागिता जनाउनेछन् ।

विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज (सोमबार) चीन प्रस्थान गर्दैछन् ।

प्रतियोगितामा नेपालबाट पुरुष खेलाडीहरू सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफ्ताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) ले प्रतिस्पर्धा गर्नेछन् भने महिला खेलाडीहरू सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) ले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षका सयद हसन रेजालाई रहेका छन् ।