सैनामैना, ६ भदौ ।
पुर्व–पश्चिम राजमार्गको किनारैकिनार बसोबास गर्ने सैनामैनाका स्थानीयलाई पछिल्ला वर्षहरूमा सास्ती दिने प्रमुख समस्या फोहोर बनेको छ । नगरको ९ नम्बर वडास्थित पिपलडाँडामा ७ वर्षदेखि अनियन्त्रित रूपमा फोहोर थुपारिँदै आएको छ, जसले दैनिक जीवनलाई असहज र असुरक्षित बनाइदिएको छ ।
सैनामैना नगरपालिका–५ बुद्धनगरमा नगर कार्यालय भए पनि त्यसको पश्चिमतर्फ सालझण्डी पुग्नुअघि पर्ने पिपलडाँडा नै फोहोर डम्पिङ साइट बनेको छ । तर त्यही ठाउँ वरपरका बस्तीका बासिन्दाले अब प्रतिरोधमा उत्रिएका छन् । उनीहरूको भनाइ छ, “नगरपालिकाले सरसफाइ गर्नु त परै जाओस्, उल्टै हामीलाई दुर्गन्ध र रोग फैलाउने फोहोर उपहार दिन थालेको छ ।”
पिपलडाँडास्थित बस्तीमा बस्ने कृष्ण पाण्डे र हिमलाल अर्याल भन्छन्, “१०–१५ मिटर टाढा घरमा बस्दा पनि फोहोरको गन्धले नाक बन्द हुन्छ । झिंगा भन्किन्छ, गर्मीमा झनै सहनै नसकिने हुन्छ ।”
पार्क नजिकै फोहोर थुपारिँदा पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने हजारौं यात्रु पनि दुर्गन्धले हैरान हुने गरेका छन् । स्थानीयको गुनासो छ, “घर अगाडि ल्याएर नगरपालिकाले फोहोर पाल्छ, त्यसको गन्धले एकछिन पनि घरमा बस्न सकिन्न । हामी कहाँ गएर बस्ने ?”
स्थानीय बासिन्दाले पटकपटक गाडी फिर्ता गरेका छन् । उनीहरूको चेतावनी छ– “अब बल प्रयोग गरेर फोहोर ल्याइए, गाडी नै जलाइदिन्छौं ।”
फोहोर थुपार्ने क्रममा कुहिने–नकुहिने, प्लास्टिकदेखि सडेगलेका सिनो समेत मिसाइएपछि वातावरण प्रदूषित भएको छ । कुकुरले फोहोर छ्यापछ्याप गर्दा झन् अवस्था बिग्रिन्छ । स्थानीयहरू हैजा, झाडापखाला जस्ता महामारी फैलिने डरमा छन् ।

