काठमाडौं, १२ असाेज । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । हाल हिमाली भू-भागमा आंशिक बादल तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै तथा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।
आज राति हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।त्यस्तै मंगलबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने हिमाली भू-भागका एक-दुई तथा पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सोही दिन राति हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने महाशाखाको पूर्वानुमान छ । महाशाखाका अनुसार, बुधबार राति कोसी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।

